पहिलो अभ्यास खेलमा नेपाल विजयी, श्रीलंका आर्मी ६७ रनले पराजित

होमल्याण्ड खबर

२०७५ भाद्र ७ गते, बिहीबार १०:५४ मा प्रकाशित

एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ । बुधबार भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको हो ।

पानागोडामा नेपालले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली आर्मीले ३६ ओभर १ बलमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो  । आर्मीका जगत राजपाक्षेले ४६, लाहिरु चामराले २६ तथा प्रदीप रत्ननायकेले १८ रन जोडे ।

श्रीलंका आर्मीलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।

यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४८ ओभर ४ बलमा अलआउट हुँदै १९४ रन बनाएको थियो ।

श्रीलंकाको फस्ट क्लास क्लब आर्मीविरुद्ध नेपालका आरिफ शेखले अर्धशतकीय इनिङस खेले । आरिफले ११८ बल खेल्दै ८९ रनको योगदान दिए । नेपालको सम्मानजनक स्कोरमा उनले ८३ बलमा अर्धशतक पुरा गरेका थिए ।

यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारी समान १६/१६ रन जोडे । रोहित कुमार पौडेल १२ रन आउट भए ।  श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षेले समान २/२ विकेट लिए ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप अघि एक साताको प्रशिक्षण गर्न नेपाली टोली श्रीलंका पुगेको हो । अब नेपालले शुक्रबार ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् ।

यस्तै नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।

एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।

छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।