बिस्का जात्रा: बुद्धकृष्ण बागश्रेष्ठले नवौँ पटक छेडे जिब्रो

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १६:५३ मा प्रकाशित

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण बागश्रेष्ठले नवौँ पटक जिब्रो छेँडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीको मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।