गभर्नर अधिकारी आजदेखि राष्ट्र बैंकमा पुनः हाजिर

होमल्याण्ड खबर

२०७९ बैशाख ७ गते, बुधबार १२:३२ मा प्रकाशित

सरकारले गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार) आफ्नो नियमित काममा फर्किंदै छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग मत बाझिएपछि गभर्नर अधिकारीलाई देशको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले छानबिन अघि बढाएको थियो ।

गत चैत २५ गते मन्त्रिपरिषद् बैठकले उनीबारे छानबिन गर्न जाँचबुझ समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो। तर गभर्नर अधिकारीले आफूलाई अन्याय भएको भन्दै रिट निवेदन दिएपछि सर्वोच्च अदालतमा मंगलबार अन्तरिम आदेश जारी गरी गभर्नर अधिकारीलाई काम गर्न दिन र कारबाही नगर्न भनेको हो ।

योसँगै उनी १२ दिनपछि गभर्नर अधिकारी आज राष्ट्र बैंकका पुनः हाजिर हुँदै छन् । तर अब उनलाई काम गर्न सहज वा असहज कस्तो होला, कौतूहल छ ।

पछिल्लो समय अर्थतन्त्र संकटको अवस्थामा गएको र अर्थनीति र वित्तिय नीतिमा समन्वय हुन नसकेको विषय उठान भइरहेको थियो ।

विशेष गरी अर्थमन्त्री र गभर्नरबीच आवश्यक समन्वय हुन नसकेको विषय बाहिर आइरहेको थियो।

अर्थतन्त्रको विषयमा सार्वजनिक कार्यक्रममै अर्थमन्त्री र गभर्नरको भनाइ बाझिएको थियो ।