पल शाहको मुद्दामा बिहीबार पनि थुनछेक बहस हुन सकेन

होमल्याण्ड खबर

२०७९ बैशाख २२ गते, बिहीबार १५:२९ मा प्रकाशित

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन ।

उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।

थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका थिए । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै रिट निवेदन लिएर उच्च अदालत पोखरा पुगेका शाहको मुद्दामा यसअघि नै उच्च अदालत पोखराले दुवै जिल्लाको मुद्दालाई लगाउमा राख्न आदेश दिएको थियो ।

तर यहीबीचमा सरकारी वकिलले पल शाहका मतियारका रूपमा मुद्दा चलाइएको कृष्ण जोशीलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै पुनरावेदनको निवेदन लगेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध सुरुमा पल शाह उच्च अदालत पोखरा पुगेका थिए । तर नवलपुर जिल्ला अदालतले पनि शाहलाई थुनामै पठाउने आदेश दिएपछि शाह दुवै जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।