नेप्से आज १७.९१ अंकले बढ्यो

होमल्याण्ड खबर

२०७९ बैशाख २५ गते, आईतवार १६:१३ मा प्रकाशित

साताको पहिलो कारोबारको दिन (आइतबार)  शेयरबजारमा हरियाली छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज बढेको हो । परिसुचक १७.९१ अंकले बढेर २२५६.५४ विन्दुमा पुगेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक बढेर बन्द भएको छ ।

यस दिन २३३ स्टकको २७ हजार २२९ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको ३३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १० प्रतिशत अर्थात १५२ रुपैयाँ बढेर १ हजार ६७२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यस दिन घलेम्दी हाइड्रो र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.९२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७ करोड ५३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यता बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक भने यस दिन घटेका छन् ।