बुद्धले आइतबारदेखि रात्रिकालीन उडान गर्दै

होमल्याण्ड खबर

२०७९ बैशाख २९ गते, बिहीबार १४:१८ मा प्रकाशित

बुद्ध एयरले आगामी आइतबारदेखि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो । यसअनुसार अब रातको १२ बजेसम्म आन्तरिक उडानका जहाज उड्ने भएका छन् ।

बुद्ध एयरले शनिबारबाट जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको जनाएको छ । यी उडानमा राती ८ बजेदेखि समय सुरु हुने छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालीन उडान विहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।