३१ बैशाख २०८३, बिहीबार
स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ।
नेकपा माओवादी केन्द्रले २० स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले २ स्थानमा प्रमुख जितेको छ। माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ।


त्यस्तै, अन्य पार्टीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न सकेका छैनन्। जनता समाजवादी पार्टी नेपालले २८ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११ स्थानमा अग्रता लिएको छ। अन्य २५ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन्। देशभर मतगणना जारी छ।