३१ बैशाख २०८३, बिहीबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताएका छन् ।
२५६६ औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गरेका छन्।


‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्त्व दिएका छौँ,’ उनले सन्देशमा भनेका छन्, ‘फलस्वरूप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ।’ उनले सयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जानकारीसमेत गराएका छन्।
लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लुम्बिनीमा पाँच हजार ध्यानीहरूले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल आफूहरूले निर्माण गरेको दावी समेत गरे।
उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हुनुका साथै बुद्ध दर्शनको उद्गमस्थल रहेको जनाएका छन्।