गुल्मीको छत्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा एमालेको विजयी

होमल्याण्ड खबर

२०७९ जेष्ठ २ गते, सोमबार १५:५४ मा प्रकाशित

गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले छ हजार ४७२ मतसहित निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याए । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको छ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ ।

यसैगरी, सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उनले छ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै निरमाया पुन छ हजार २२४ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याइन् ।

सत्यवतीका आठ वटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।