सबै मुलुकसँग नेपालको व्यापारघाटा

होमल्याण्ड खबर

२०७५ भाद्र १२ गते, मंगलवार १०:३२ मा प्रकाशित

बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले व्यापारघाटा बेहोरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको व्यापारमा आर्थिक वर्ष २०७४-७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । गत आवमा नेपालले ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँको सामान भारतबाट आयात गरेको छ भने ४६ अर्ब ६० करोड ४८ लाख रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँगै छ ।

यस्तै, केही वर्षअघिसम्म नाफामा रहेको बंगलादेशसँगको व्यापारमा पनि पछिल्ला केही वर्षदेखि नेपालले घाटा बेहोर्दै आएको छ । गत आवमा नेपालले बंगलादेशसँग ३ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यस अवधिमा बंगलादेशबाट ४ अर्ब ७९ करोड रुपैयाँको सामान आयात गरेको छ भने नेपालले १ अर्ब ८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।

यस्तै, थाइल्याण्डसँग नेपालले गत आर्थिक वर्षमा १३ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको विभागको तथ्यांकमा छ । तथ्यांकअनुसार गत वर्ष नेपालले १४ अर्ब १३ करोड रुपैयाँको समान थाइल्याण्डबाट आयात गरेको छ भने नेपालबाट ३ करोड २६ लाख रुपैयाँको समान निर्यात गरेको छ । तथ्यांकअनुसार म्यानमारसँग नेपालले गत आवमा ४ अर्ब ११ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गतवर्ष नेपालले म्यानमारबाट ४ अर्ब ११ करोड रुपैयाँको सामग्री आयात गरेको छ भने ९ लाख ५० हजार रुपैयाँको सामग्री निर्यात गरेको छ ।

बिमस्टेकमा संलग्न अर्को देश भुटानसँग गत आवमा नेपालको व्यापारघाटा १ अर्ब ५६ करोड रुपैयाँको छ । गत वर्ष भुटानबाट १ अर्ब ६३ लाख रुपैयाँ बराबरको सामान आयात गरेको नेपालले ७ करोड ५८ लाख रुपैयाँ बराबरको सामानमात्रै निर्यात गरेको छ । यस्तै, श्रीलंकासँग नेपालले गत आवमा ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । गत वर्ष नेपालले श्रीलंकाबाट ३० करोड ९६ लाख रुपैयाँको समान आयात गरेको छ भने नेपालले ८९ लाख ५५ हजार रुपैयाँको सामाग्री निर्यात गरेको छ ।

अर्थविद् डा. शंकर शर्माका अनुसार नेपालले बिमस्टेक राष्ट्रसँग उर्जा, व्यापार लगानी लगायतका क्षेत्रबाट फाइदा लिने प्रशस्तै आधारहरु छन् । तर, यसमा नेपाल कसरी प्रस्तुत हुन्छ, लगानी भित्र्याउन बिमस्टेकका अरु ६ राष्ट्रलाई कसरी प्रतिबद्ध बनाउछ भन्ने विषयले महत्व राख्छ । यस्तै अर्का अर्थविद् डा. डिल्लिराज खनालका अनुसार राष्ट्रहरु एक आपसमा सम्बन्ध सुधार गर्न र बिमस्टेक बाहिरका देशसँगको सम्बन्ध विस्तारमापनि यस्ता संगठनहरुले सहजता ल्याउँछ भन्ने अपेक्षा गर्न सकिन्छ ।