नगर प्रमुखमा सीके राउतको पार्टीको पहिलो जित

होमल्याण्ड खबर

२०७९ जेष्ठ ४ गते, बुधबार १३:०९ मा प्रकाशित

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।

०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए । ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए । राजपा र फोरम एक भई जसपा निर्माण भएको र फेरि लोसपा बनेपछि दुवै जनाले जसपा नै रोजेका थिए । जसपाले यसपटक साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि माझी मनोनयनको एक दिन अगाडि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यस्तै, हनुमाननगर कंकालिनीको उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरिन् ।