माधव नेपालको वडामा एमालेका नवराज पराजुली निर्वाचित

होमल्याण्ड खबर

२०७९ जेष्ठ ६ गते, शुक्रबार १४:४१ मा प्रकाशित

काठमाडौं महानगरपालिका–३२ को अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुली तेस्रो पटक वडाध्यक्ष बनेका हुन् ।

वडाध्यक्षसहित एमालेले महिला सदस्य, दलित महिला सदस्य तथा सदस्य पनि जितेको छ ।

काठमाडौं महानगरको जारी मतगणनामा वडा नं. ३२ को परिणामअनुसार पराजुली ५ हजार २ सय २५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ हजार १०८ मत पाइन् ।

पराजुलीले नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेललाई पराजित गरे । उनी ०५४ मा पनि वडाध्यक्ष भएका थिए । ०७४ को निर्वाचनमा पनि उनी नेकपा एमालेबाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

महिला सदस्यमा हिरादेवी पोखरेल ५४ सय ८९ मत, दलित महिला सदस्यमा सिता विशुंखे ५२ सय ३५ मत तथा सदस्यमा भगवान बुढाथोकी ४४ सय ७१ र हरिबहादुर बस्नेत ४३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवाससमेत रहेको यो वडामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन थियो । तर, अध्यक्ष नेपालकै वडामा उनको उम्मेदवार पराजित भएकी छन् ।