‘पोखरा महानगरमा सुशासन र बिनाझन्झट सेवा दिन्छौँ’ : नवनिर्वाचित मेयर आचार्य

होमल्याण्ड खबर

२०७९ जेष्ठ ११ गते, बुधबार ११:१२ मा प्रकाशित

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले महानगरबाट सुशासन र बिनाझन्झट सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन्।आज बिहान मेयरमा निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताएका हुन्।

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

आचार्यले पाँच दलको शक्ति, सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले जित सम्भव भएको उल्लेख गरे ।

आचार्य नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत पाएका थिए।