तारा एयर दुर्घटनाः २२ जनाकै शव काठमाडौं ल्याइयो

होमल्याण्ड खबर

२०७९ जेष्ठ १७ गते, मंगलवार १४:३१ मा प्रकाशित

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।

उनका अनुसार काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझैपनि कुहिरो लागेको बताइएको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सब पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेबी तमाङ रहेको थियो । यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी रहेका थिए ।

यसैगरी जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।