३ अर्ब खर्च गरिसकेको निजगढ विमानस्थल अघि बढाइनुपर्छ : सांसद देवकोटा

होमल्याण्ड खबर

२०७९ जेष्ठ १७ गते, मंगलवार १५:४३ मा प्रकाशित

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन् । निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उहाँले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ । यो विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । विमानस्थल क्षेत्रमा पर्ने आठ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ ।