इनरुटको मौसमको सूचना नहुँदा दुर्गम क्षेत्रका सबै उडान रद्द

होमल्याण्ड खबर

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:५८ मा प्रकाशित

इनरुटको मौसमको सूचना नहुँदा बिहीवार छोटो दूरीको उडान तथा अवतरण (स्टल) रुट हुने सबै उडान रद्द भएको छ । स्टल रुट अन्तर्गत दुर्गम क्षेत्र उड्ने सबै वायुसेवाको उडान मौसमी सूचनाकै अभावका कारण रद्द भएको हो ।

तारा एयरको विमान दुर्घटनापछि मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरुटको मौसमसम्बन्धी निर्णय गर्ने अधिकार पाइलट इन कमाउण्डबाट खोसेर विमानस्थललाई दिएको छ ।

तर, विमानस्थल कार्यालयले इनरुटको मौसमसम्बन्धी जानकारी दिन सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले पनि जनशक्तिको अभावमा थप हाल दिइरहेको भन्दा थप सूचना दिन नसक्दा बुधवार र बिहीवार दुर्गम क्षेत्र जाने वायुसेवाको उडान हुन नसकेको हो ।

इनरुटको मौसम सम्बन्धि सूचनाको समस्याकै कारण बुधवार विहान निर्धारित समयभन्दा २ घण्टा ढिलो गरेर लुक्लामा १ र रामेछापमा २ उडान मात्रै भएको थियो ।

बिहीवार विहान भने एउटै पनि उडान हुन नसकेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनका अनुसार तारा एयरको मात्रै बिहीवार बिहानका लागि पश्चिममा ५ र काठमाडौंबाट लुक्ला ५ वटा उडानको तालिका थियो ।

मौसम सम्बन्धित सूचनाका कारण विहीबार स्टल रुटमा जाने तारा बाहेक अन्य वायुसेवाको पनि उडान भएको छैन । प्राधिकरणले वायुसेवासँग समन्वय नगरी गरेको निर्णयका कारण दुर्गम क्षेत्रमा उडान हुन नसक्ने अवस्था आएको हो ।

मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेरै जनशक्ति अभावले आन्तरिक विमानस्थलको हकमा प्रविधिको माध्यमबाट मौसमी सूचना मात्रै दिन सक्ने जानकारी दिएको छ । विभाग दैनिक क्षेत्रगत मौसमी अवस्थाको बिफ्रिङ गर्न सक्ने तर इनरुटको मौसमी विवरण भने दिन नसक्ने स्पष्ट पारेको छ ।