पोखरा उच्च अदालतमा पल शाहको मुद्दामाथि सुनुवाई हुँदै

होमल्याण्ड खबर

२०७९ जेष्ठ १९ गते, बिहीबार १२:२८ मा प्रकाशित

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक-पटक सुनुवाई सर्दै आएकोमा आज पलको निवेदनमाथि सुरुमै पेशी तोकिएको छ।

पलका वकिल कमला मोहन वाग्लेले न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको बताए।

यसअघि गत साता पनि पेशी तोकिएको थियो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए।

पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए।