जहाज दुर्घटना: पोष्टमार्टमपछि २२ जनाकै शव परिवारलाई हस्तान्तरण

होमल्याण्ड खबर

२०७९ जेष्ठ १९ गते, बिहीबार १३:१९ मा प्रकाशित

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका २२ जना कै शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि एकैपटक मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रहरीको सहयोगमा त्रिवि शिक्षण अस्पतालले शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरेको थियो । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

आइताबार पोखराबाट मुस्ताङ उडेको ९ एन– ‘एईटी’ ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

दुर्घटनामा चालक दलका ३ सदस्यसहित जहाजमा सवार २२ जनाकै मृत्यु भएको थियो । मृतकको शव  सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।