‘अब घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउनुहोस्’,मेयर बालेनको अनुरोध

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार ११:२९ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौँवासीमा अनुरोध गरेका छन्। बालेनले अब फोहोर उठ्ने बताउँदै फोहोर दुख दिँदा सहिदिएकाले काठमाडौँवासीप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। मेयर बालेनले फोहोर उठ्नुमात्र यसको समाधान नभएको पनि बताउँदै फोहोरलाई कुहिने र नकुहिने छुट्याउन सबैलाई अनुरोध पनि गरे।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निसन्देहस् खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ। साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ।’

‘तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन। अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ। हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ’ उनले लेखेका छन्, ‘जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन। अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईंहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ।’