बिमस्टेक बडापत्र निर्माणमा सहमति

होमल्याण्ड खबर

२०७५ भाद्र १३ गते, बुधबार ११:२२ मा प्रकाशित

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)का विदेश सचिवहरूको मंगलबार काठमाडौंमा बसेको १९ औं विशेष बैठकले भन्सारमा सहकार्य, कनेक्टिभिटी, प्रविधि, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद तथा संक्रमणीय अपराधलगायत बिमस्टेकको सचिवालयलाई सुदृढ बनाउनेबारे सहमति गरेको छ । बिमस्टेक सदस्य राष्ट्रहरूको बडापत्र निर्माणका लागि मस्यौदा तयार गर्न सहमतिमा पुगेको पनि परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विदेश सचिवहरूको बैठकमा १४ वटा विविध क्षेत्रसँग सम्बन्धित प्रतिवेदनहरू प्रस्तुत भएको परराष्ट्रसचिव भरतराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । बिमस्टेकका सदस्य राष्ट्रहरूले नेतृत्व लिनेगरी तय भएको १४ क्षेत्रहरूलाई समायोजन गर्ने विषयमा छलफल केन्द्रित रहेको पनि उनले बताए । ‘धेरै क्षेत्र भएका कारण बिमस्टेकलाई प्रभावकारी बनाउन नसकिएको निष्कर्षसहित क्षेत्रहरू घटाएर बिमस्टेकलाई प्रभावकारी बनाउने विषयमा समेत सहमति जुटेको छ,” उनले भने ।

बैठकले ऊर्जाका क्षेत्रमा सहमति गर्ने निर्णय गरेको छ भने संगठनलाई प्रभावकारी बनाउन बिमस्टेक सहकार्य कोष निर्माण गर्नेमा सबै सदस्य राष्ट्रहरू एकमत देखिएका बताउँदै उनले बिमस्टेक गठन भएको लामो समयसम्म प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएकोले संगठनलाई चलायमान बनाउन सचिवालयलाई क्रियाशील बनाउने सहमति भएको जनाए । मंगलबारको सचिव स्तरीय बैठकले बुधबार बस्ने मन्त्रिस्तरीय बैठकको कार्यदिशासमेत तय गरेको छ ।
मन्त्रिस्तरीय सम्मेलनबाट सुरु भएको बिमस्टेक २००४ बाट कार्यकारी प्रमुखहरूको सम्मेलनका रूपमा विकसित भएको हो । बैंककमा सन् २००४, नयाँ दिल्लीमा २००८ मा, न्याप्यिदोमा २०१४ मा सम्मेलन आयोजना भएको थियो । नेपालमा आयोजना हुन लागेको सम्मेलन चौथो हो । कार्यकारी सरकार प्रमुखहरूको शिखर बैठक आयोजना गर्ने निर्णय भएको १५ वर्षमा नेपालमा बिहीबार तथा शुक्रबार चौथो सम्मेलन आयोजना हुन लागेको हो ।