एसिया कप छनोट : पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित

होमल्याण्ड खबर

२०७५ भाद्र १३ गते, बुधबार १५:२३ मा प्रकाशित

एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसंग पराजित भएको छ । बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको हो ।

मलेसियाको बायुमास ओभरमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । नेपालको लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमै अर्धशतकीय इनिङस खेल्न सफल भए । ८४ बलको सामना गरेका सागरले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५ रन बनाउदा आरिफ शेखले ३६ रन बनाए । करण केसी २६ रनमा अविजित रहे । त्यसबाहेक नेपालका दिपेन्द्र सिंह ऐरीले ९ , कप्तान पारस खड्काले ८, सोमपाल कामीले ५ तथा सुवास खकुरेलले ४ रन जोडे । बसन्त रेग्मी र रोहित कुमार पौडेल सुन्य रनमा पेभेलियन फर्किए ।

ओमानका बिलाल खान, मोहमद नादीम र अजय लालचेताले समान २/२ विकेट लिए ।