३० बैशाख २०८३, बुधबार
गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

