चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन ४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ असार १४ गते, मंगलवार १६:३७ मा प्रकाशित

 सुदूरपश्चिमका वर्षासहित चट्याङ पर्दा ४ जनाको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ । यस्तै पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छन् । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार विहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको हो । घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव उपरिक्षक बेदप्रशाद जोशीले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षिया बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।