शिखर सम्मेलनको समापन नहुदैं शेख हसिना बंगलादेश प्रस्थान गर्ने

होमल्याण्ड खबर

२०७५ भाद्र १४ गते, बिहीबार १५:३८ मा प्रकाशित

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ । आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको द डेलीस्टार डटनेटले उल्लेख गरेको छ ।

हसिनाले घरेलु राजनीतिका कारण बिमस्टेक बैठकमा आउन नसक्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएकी थिइन् । प्रधानमन्त्री ओलीले फोन गरेर उनलाई ‘अघिल्लो दिन आएर भोलिपल्ट चाडै जानुहोला’ भनेपछि उनी वचन हार्न नसकेर काठमाडौं आएकी हुन् ।

बालुवाटारमा भएको एक भेटमा प्रधानमन्त्री ओलीले यसबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भनेका थिए ‘सेख हसिनाले खबर पठाउनुभयो कि म त आउन नसक्ने भएँ, एकदमै साह्रो भयो । मैले फोन गरेर विशेष आग्रह गरें,तपाई आउनैपर्छ, बरु छोटो समय लिएर अघिल्लो दिन आउनोस् भोलिपल्ट छिटै सकौंला, अनि हिँडिहाल्नुहोला भनेर सम्झाएपछि उहाँले नाई भन्न नसकेर बडो मुस्किलले हुन्छ भन्नुभयो ।’

प्रधानमन्त्री हसिना स्वदेश फर्किनुअघि शुक्रबार बिहानको ‘रिट्रिट’ मा सहभागी हुनेछिन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार आयोजना गर्ने रात्रि भोजमा पनि उनी सहभागी हुनेछिन् ।