नुवाकोटको ककनीमा प्रचण्डले अनावरण गरे स्वर्गीय पुत्र प्रकाशको शालिक

होमल्याण्ड खबर

२०७९ असार १७ गते, शुक्रबार १६:२४ मा प्रकाशित

शुक्रबार असार १७ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय पुत्र साकार दाहाल ‘प्रकाश’ शालिक नुवाकोटको ककनीमा अनावरण गरेका छन् । स्वर्गीय पुत्र प्रकाशको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले शालिक नेपाल पर्वतारोहण संघको आग्रहमा बनेको बताएका छन्।

उनले भनेका छन्,‘यो ठाउँमा स्वर्गीय पुत्र साकारको शालिक बनाउने कुरामा केही अफ्ठ्यारो महसुस गरेको थिएँ। यो शालिकले कसैको परिवारलाई जोड्ने नभएर सगरमाथासहित ८ हजार मिटर अग्ला हिमाल चढेका आरोहीहरुको प्रतिनिधित्व गरेको छ । देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका लागि योगदान दिएकाव्यक्तिलाई यसले जोड्ने काम पनि गर्छ। पर्वतारोहण संघले शालिक बनाउँदा राम्रो हुने भनेपछि तयार भएको हुँ। हाम्रो आग्रहले होइन।’

अध्यक्ष प्रचण्डले आरोहीहरुलाई सम्मान र पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले यो शालिक बनेको पनि बताएका छन् । ‘आरोहीहरुलाई सम्मान र पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले यो शालिक बनेको हो । यस्तो कामले पर्वतीय पर्यटन बढाउन पनि मद्दत गर्नेछ।’

पुत्र प्रकश दाहालको २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै निधन भएको थियो । जतिबेला संघ र प्रदेशको चुनावले मुलुक तातेको थियो ।