सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

होमल्याण्ड खबर

२०७९ असार १९ गते, आईतवार १३:०५ मा प्रकाशित

चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ।

सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, छोटा अवधिका २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको चालु आर्थिक वर्ष भित्र नै भुक्तानी हुने भए पनि एक वर्षमाथिका ऋणहरू भने जारी रहनेछन् ।

बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ऋण उठाउन थालिएकोमा यस त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको र तेस्रो र चौथो त्रैमासमा क्रमशः ९९ अर्ब ४६ करोड र १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको जनाएको छ । यस्तो ऋण दोस्रो तेस्रो र चौथो त्रैमासमा क्रमशः २।६ प्रतिशत, ४३ प्रतिशत र ५४।४०२ प्रतिशत सङ्कलन गरिएको छ ।

सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत विभिन्न औजार प्रयोग गरी आन्तरिक ऋण उठाउने गर्छ । सोही विधिमार्फत चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको हो ।