एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास,जनही २ लाख क्षतिपूर्ति

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार १३:३१ मा प्रकाशित

जिल्ला अदालत संखुवासभाले मादी नगरपालिका-१ हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।
जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले चार जनालाई आजीवन कारावास सजाय सुनाइएको कारावासको फैसला भएको जानकारी दिए ।

आरोपमा पक्राउ परेका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश र २८ वर्षीय लोकबहादुर कार्की थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो ।
अदालतले चारजनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ । एक जनालाई २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको गौतमले जानकारी दिए । २०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।