२ चैत्र २०८२, सोमबार
दुई गुटमा विभाजित नेपाली कांग्रेसका नेताहरुलाई सबक सिकाउन नवलपरासीका कार्यकर्ताले छुट्टै समिति गठन गरेका छन् । आन्तरिक विवादका कारण जिल्लामा पार्टी नेतृत्व कमजोर भएको र निर्वाचनमा समेत प्रभाव परेको भन्दै उनीहरुले दुवै गुटविरुद्ध खबरदारीसहित पार्टी एकढिक्का बनाउन समिति गठन गरेका हुन् ।
क्षेत्र नं १ का कांग्रेस नेता अशोकजंग राणाको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय समितिको नाम ‘कांग्रेस चिन्तन समूह तदर्थ समिति’ राखिएको छ । पाँच सदस्यीय सल्लाहकार समितिसमेत बनाइएको छ । पार्टीका पुराना कार्यकर्ताहरुले गोपीगञ्जमा भेला राखेर समिति गठन गरेका हुन् ।


आर्थिक प्रलोभनमा परेर नेताहरुले अन्य पार्टीबाट आएका व्यक्तिलाई स्थानीय तहको टिकट दिएको गम्भीर आरोप उनीहरुले लगाएका छन् । गुटलाई यथावत राखेर काम गरे आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित हुने निश्चित भएको भेलाले ठहर गरेको छ ।
कार्यकर्ताहरु एक–अर्कासँग बोले विपक्षीझैं व्यवहार गर्ने दुई नेताहरुकै कारण जिल्लाको संगठन पनि कमजोर बन्न थालेकोमा कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
गुटमा नलागेका कारण १४ औं महाधिवेशनमा वडादेखि केन्द्रीय प्रतिनिधि र सदस्यमा पुराना कार्यकर्ताहरुलाई नराखेको, स्थानीय तहको निर्वाचनमा गुटको कारण देखाएर अवसरबाट बञ्चित गराइएको उनीहरुको भनाइ छ ।