बुढीगंगामा झडप स् मतदानस्थल सुरक्षाकर्मीको नियन्त्रणमा

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार १४:३३ मा प्रकाशित

बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ । बुढीगंगाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएको हो। फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप भएको प्रहरीले जानकारी दिएको छ ।

झडप एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । मतदान पुनः सुरु गर्न प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

यसअघि वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो। यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।