सीपीसीका नेता लिउ काठमाडौंमा, आजै प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई भेट्दै

होमल्याण्ड खबर

२०७९ असार २६ गते, आईतवार ११:०४ मा प्रकाशित

नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार साढे १० बजे काठमाडौं आइपुगेका छन् । लिउ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट द्वारिकाज होटलमा गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भ्रमणको सुरुवात गर्ने छन्।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।

परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्त्वपूर्ण भूमिका राख्छ । त्यसको कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।