२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने प्रष्ट पारेको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको रात्री भोजमा कांग्रेस नेताहरुले आफूहरु विश्व शान्ति चाहने भएकाले सैन्य गठबन्धनमा सहभागी नहुने प्रष्ट पारेका हुन् ।


कांग्रेस महामन्त्री गगनकुमार थापाले लिउसँगको भेटबारे प्रष्ट पार्दै भने, ‘हामी कहिल्यै कुनै पनि शैन्य गठबन्धनमा छैनौँ, बस्दैनौँ । मित्र राष्ट्रहरूको बीचमा तनाव आउनसक्छ, तर हामीलाई त्यसमा बोल्नु छैन । हामी विश्व शान्तिको पक्षमा छौँ । हामीलाई कसैको पनि पक्ष वा विपक्षमा लाग्नु छैन । यति हुँदा हामीलाई चीनसँग पनि अपेक्षा छ, अरु मित्र राष्ट्रसँग पनि त्यही अपेक्षा हुन्छ, कि नेपालको सरकारमा कांग्रेस होस् वा माओवादी होस् वा एमाले होस, तपाईंहरुको एउटै दृष्टिकोण हुनुपर्छ ।’
महामन्त्री थापाले कांग्रेस बीपी कोइरालाको मार्गदर्शनमा अघि बढेको पार्टी भएको उल्लेख गर्दै बीपीकै पालादेखि नेपाल–चीनबीच विशिष्ट सम्बन्ध रहेको र आफूहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
‘अहिले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा हुनुहुन्छ । हिजो साँझ हामीले उहाँलाई नेपाली कांग्रेसको तर्फबाट भेट्यौँ, स्वागत गर्यौँ, र नेपाली कांग्रेसको तर्फबाट प्रष्ट कुराहरु राख्यौँ,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस बीपी कोइरालाको मार्गदर्शनमा अघि बढेको पार्टीको हो । बीपीकै पालादेखि नेपाल–चीनबीच विशिष्ट सम्बन्ध छ, त्यो हामीले स्थापनाकालदेखि ध्यानमा राखेका छौँ, त्यो कुरामा एक इन्च पनि तलमाथि हुँदैन । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । कसैले बहकाएर बहकिदैनौँ, बहकिन दिँदैनौँ ।’
उनले नेपालमा विकासको ठूलो आवश्यकता रहेको उल्लेख गर्दै नेपालको स्रोत साधनको उपलब्धता कमजोर रहेको बताए । महामन्त्री थापाले नेपालले एमसीसी र बीआरआई दुवै सहयोग लिने बताउँदै अमेरिका र चीनसँग मिलेर काम गर्न चाहेको कुरा लिउसमक्ष राखेको बताए ।
‘अगाडि राखेर स्पष्टसँग भन्यौँ हामी एमसीसी पनि लिन्छौँ, हामी बीआरआई पनि लिन्छौँ। हामी संयुक्त राज्य अमेरिकासँग पनि सहयोग लिन्छौँ, हामी भारतसँग पनि काम गर्छौँ। हामी चीनसँग पनि काम गर्छौँ। जापानसँग पनि काम गर्छौँ। हामी सबै देशहरुसँग मिलेर काम गर्न चाहन्छौँ,’ उनले भने।