गभर्नर अधिकारीको विषय संसद्मा प्रवेश

होमल्याण्ड खबर

२०७९ असार २९ गते, बुधबार १३:५० मा प्रकाशित

गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन् । माओवादीकी नेतृ रेखा शर्माले एम अधिकारीको नाममा एमालेको अर्थ विभागमा बसेको भन्दै कारबाहीको माग गरिन । उनकै कारणले अर्थतन्त्र बिग्रिएको उल्लेख गर्दै गम्भीर छानबिनको माग उनको थियो ।
‘राष्ट्र बैंकको प्रमुख एमालेको अर्थ विभागमा बस्न मिल्छ कि मिल्दैन ?,’उनको प्रश्न थियो, “यो विषयमा गम्भीर छानबिन जरुरी छ ।’ त्यसैगरी,कांग्रेसका सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए ।

‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ,’ उनले भने, “सरकारलाई सहयोग पनि भएन । यो बन्द गरिएन भने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । गभर्नरलाई यस्तो नबोल्न रुलिङ गर्नुपर्छ । भूकम्प गएको बेला भूकम्प आयो भन्ने सर्वसाधारणलाई थुनिन्थ्यो । आज जिम्मेवार निकायमा बस्नेले आतंकित बनाइरहेका छन् । किन कारबाही नगर्ने ? ’