सेयर बजारमा सकारात्मक माहोल,नेप्से ३.०९ प्रतिशतले उकालो

होमल्याण्ड खबर

२०७९ असार २९ गते, बुधबार १६:०५ मा प्रकाशित

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको छ । नेप्से ३.०९ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.४२ अंकले बढेर ३८१.३७ विन्दुमा पुगेको छ ।

कूल २२५ वटा कम्पनीको ५७ लाख ८७ हजार एक सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड २ लाख ९५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ९८ रूपैयाँ २० पैसामा झरेको छ ।