आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

होमल्याण्ड खबर

२०७९ श्रावण १ गते, आईतवार १०:०९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गर्ने भएको छ । तपाईको घरबाट निस्कने फोहोरको प्रकृति कस्तो छ ? कुहिने खालको फोहोर छ की ? नकुहिने खालको फोहोर छ ? सोलोडोलो एउटै भाडोमा हालेर त्यसरी आजदेखि तपाईहरुले फोहोर फाल्न पाउनुहुने छैन ।

अब देखि कुहिने र नकुहिने गरी तपाईहरुले नै फोहोरलाई बर्गीकरण गर्नुपर्ने हुन्छ । अलग अलग रुपमा तपाईले नै यस्तो खालको फोहोर वर्गीगरण गरेर राख्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिकाका अनुसार, आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर लिन अव तपाईका घर घरमा फोहोर संकलन गर्ने मानिस आउनेछन् । त्यसबारेमा काठमाडौंम हानगरले सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ । यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन पनि महानगरपालिकाले महानगरवासीहरुमा अनुरोध गरेको छ ।

फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ ।