सांसद चौधरी: ४० लाख विदेशीले नागरिकता लिए, देशलाई फिजी बनाउन खोजेको हो?

होमल्याण्ड खबर

२०७९ श्रावण ६ गते, शुक्रबार १५:०९ मा प्रकाशित

नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् ।

मुलुकलाई बलियो बनाउने मेरुदण्डको रुपमा नागरिकता रहेको बताउँदै उनले कहिल्यै पनि यो विषयलाई हल्का रुपमा लिन नहुने बताइन्। देशलाई विचलित हुने कुनैपनि किसिमको काम गर्न हुँदैन भन्ने कुरालाई मजाकको रुपमा नलिन उनले आग्रह गरिन् । नेपाल सार्क मुलुकको सदस्य हो कि हैन भन्दै सार्क मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था के के गरिएको छ हेर्न गृहमन्त्रीलाई आग्रह गरिन् । उनले भारतबाट बिहे गरेर आउने बित्तिकै नागरिकता दिनु देशको हित विपरित हुने बताइन् ।

उनले भनिन्– ‘कसलाई खुसी पार्न, कसको कुर्सी जोगाउनका लागि हामीले यो काम गर्दैछौँ ?’ सम्मानित सदनमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु । कसलाई खुसी पार्नका लागि यो देशलाई फिजीतिर लगिँदैछ ? २०५७ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा संसदको राज्य व्यवस्था समितिबाट एउटा नागरिकतासम्बन्धी निर्णय गरेर अर्थ विधेयकभित्र राखेर प्रतिनिधिसभाबाट पारित गरिएको थियो । पारित भएको त्यो विधेयकलाई राष्ट्रियसभाबाट फिर्ता पठाइयो । दोश्रो पटक प्रतिनिधिसभाको बैठकबाट त्यसलाई पारित गरिएको थियो। स्वर्गीय राजा वीरेन्द्रले त्यसलाई सर्वोच्चमा राय सुझाव माग्न पठाएका थिए । सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक भनेर खारेज गरेको थियो ।’

उनले अगाडि भनिन्– ‘माओवादी १० वर्षे युद्धपछि १२ बुँदे सम्झौता भयो र त्यसपछि यो सबै ढोका खुल्ला भयो । ४७ सालयता जन्मिएका सबै विदेशी नागरिकहरुलाई नागरिकता दिने प्रावधान राखियो र विदेशीलाई जन्मको आधारमा नागरिकता दिइयो । त्यसपछि ४० लाख विदेशीहरुले नागरिकता लिए। २०३७ सालमा २४ लाख विदेशीले नागरिकता लिएका थिए । तिनीहरुबाट जन्मिएका कति सन्तान छन् हामीसँग हिसाव किताब छैन । तिनीहरुबाट जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिइयो भने देश कता जान्छ रु मेरो प्रश्न गृहमन्त्रीलाई।’ उनले विदेशीहरुलाई खुसी पार्नका लागि १० वर्षे जनयुद्ध गरेको हो भन्दै प्रश्न गरिन्। उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन्।