२ चैत्र २०८२, सोमबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन्।
ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवर्द्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।’ ७५ लाखभन्दा बढी रुपैयाँको लागतमा निर्माण भएको सो पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।


सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए। उनले पार्कलाई २४सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने बताए । कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले वडाको विकासमा सङ्घ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताए ।