भक्तपुरमा रूख ढल्दा गुडिरहेको बस र स्कुटर किचियो

होमल्याण्ड खबर

२०७९ श्रावण ८ गते, आईतवार १४:०३ मा प्रकाशित

भक्तपुरमा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किचिँदा १५ जना घाइते भएका छन् । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटर रुखले किचेको हो । स्कुटर कच्याककुचुक भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले आइतबार दिउँसो एउटा रुख ढलेर बस र स्कुटर किचिएको जानकारी दिए । रुख किचिएर घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

केही घाइतेहरूको अवस्था गम्भीर छ। घटनापछि अहिले क्रेनले रूख हटाउने काम भईरहेको पनि प्रहरीले जनाएको छ ।