उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको अनुगमन

होमल्याण्ड खबर

२०७९ श्रावण ११ गते, बुधबार १५:०७ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन गरेका छन्।संघ सरकारको अधीनमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि आफूहरूलाई हस्तान्तरण गर्न भनिरहेको समय मन्त्री बडुले कारखानाको अनुगमन गरेका हुन्।

बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको सो कारखानाको अनुगमन गर्दै मन्त्री बडुले कारखाना सरकारले चलाएर निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पत्ति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि अनुगमनमा आएको बताए।

मन्त्री बडूले भने, ‘हामीले यस कारखानालाई चलाउँदा किन रोकियोरु त्यसको पनि मूल्यांकन गर्नुपर्छ र यसले हामीलाई एउटा पाठ सिकाउँछ। सरकारले आफैँले चलाउने कि, सरकारले चलाउन नसके निजी क्षेत्रसँग सहकार्य गरेर चलाउन सकिन्छ। त्यसका अतिरिक्त अरू केही उपाय हुन सक्दछन्।’ उनले सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउनका लागि विभिन्न नीतिहरू लिएको र उद्योगहरूको क्षमता बढाउने, नयाँ उद्योग सञ्चालन गर्नुका साथै बन्द रहेको कारखानाहरूलाई सञ्चालन गर्नका लागि बजेटहरूसमेत ल्याएको उनको भनाइ छ।

सरकारीसँगै निजी क्षेत्रका उद्योगहरू पनि बन्द भएकाले निजी क्षेत्रका उद्योगहरूलाई चलाउन सरकारले के के सुविधाहरू दिनुपर्ने बताउँदै उनले भने, ‘उद्योगहरू चलाउनु जरुरी छ। किनभने अहिलेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउनु छ। हामी धेरे आयात गरिरहेका छौँ, आफ्नो उत्पादन बढ्यो भने आयात कम गर्न सक्छौँ। निर्यात गर्न सक्ने उद्योगहरूलाई सरकारले विभिन्न सुविधा दिने सरकारले नीति पास गरेको छ।’