पशुपतिमा रोपियो संखुवासभाको रुद्राक्ष

होमल्याण्ड खबर

२०७९ श्रावण १२ गते, बिहीबार १२:१२ मा प्रकाशित

काठमाडौंस्थित पशुपतिनाथ मन्दिर वरपर संखुवासभाको रुद्राक्ष रोपिएको छ।

बिहीबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका, खाँदबारी नगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त प्रयासमा पशुपति क्षेत्रभित्र रूद्राक्ष रोप्ने कार्यको शुभारम्भ गरिएको हो।

कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ तथा काठमाडांै महानगरपालिकाका मेयर बालेन साह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले संयुक्तरुपमा वृक्षरोपण गरेका हुन्।

केही समय अघि खाँदबारीका मेयर थपलिया र काठमाडौं महानगरका मेयर साहबीच भएको भेटघाटमा एकआपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको थियो। सो सहमतिपछि नै पशुपति क्षेत्रमा संखुवासभाको रुद्राक्ष रोपिएको र अन्य कार्यक्रमहरु समेत गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताए।

पशुपति क्षेत्रभित्र रुद्राक्ष रोप्नका लागि खाँदबारी नगरपालिकाले रुद्राक्षका एक लाख विरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्वता व्यक्त गरेका छन्।

कार्यक्रममा मन्त्री श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खाँदबारी नगरपालिकालाई धन्यवाद दिँदै सदैब एकआपसमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए।