सिके राउत बने ओशो सन्यासी

होमल्याण्ड खबर

२०७९ श्रावण १२ गते, बिहीबार १५:०१ मा प्रकाशित

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।

तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् ।

सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएको उनको तस्बिर सार्वजनिक भएको छ ।