८ मंसिर २०८१, शनिबार
नेपाल बैंक लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स (विप्रेषण) कारोबारसम्बन्धी परिमार्जित सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले बैकको धर्मपथस्थित प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहकाबीच हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात् नेपाल बैंक लिमिटेडबाट पठाएको रेमिट्यान्स सिटी एक्सप्रेस मनी ट्रान्सफरका सम्पूर्ण एजेन्टमार्फत भुक्तानी प्राप्त गर्न सकिने तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत पठाइएको अन्तर्राष्ट्रिय रेमिट्यान्स नेपाल बैँक लिमिटेडका सम्पूर्ण शाखा र यस बैंकका १ हजार बढी एजेन्टबाट भुक्तानी प्राप्त गर्न सकिने थप सुविधा सेवाग्राहीलाई उपलव्ध हुनेछ ।
सो परिमार्जित सम्झौता हस्ताक्षर समारोहमा नेपाल बैंक लिमिटेड केन्द्रीय वित्त विभागका मुख्य प्रवन्धक होमबहादुर खड्का, सिटी एकस्प्रेस मनी ट्रान्सफरका प्रमुख वित्त अधिकृत ऋषिराम पौडेललगायत दुवै संस्थाका अन्य अधिकारीहरूको उपस्थिति थियो ।
एक परिपक्व स्थिर वित्तीय संस्थाका रूपमा ८ दशकयता अविच्छिन्न रूपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंक लिमिटेडले ०७५ असारसम्म ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड, तराई ५६ जिल्लामा फैलिई १ सय ४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटीएम आउटलेटमार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याइरहेको बैंकले जनाएको छ ।