यू २० साफ च्याम्पियनसिपः अन्तिम खेल नेपाल र बंगलादेश खेल्दै

होमल्याण्ड खबर

२०७९ श्रावण १७ गते, मंगलवार १३:५६ मा प्रकाशित

यू २० साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अघिल्लो खेलमा भारतसँग आठ शुन्य गोल अन्तरले पराजित भएको नेपालले आज अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

लगातार दुई खेल जितेर उत्साहित बनेको नेपाल भारतसँग भारी गोल अन्तरले पराजित भएपछि धक्का लागेको थियो । अब नेपालको फाइनल पुग्ने सम्भावना अंकगणितमा त बाँकी नै छ, तर व्यवहारिक रुपमा कठीन छ ।

नेपालले आज बंगलादेशलाई पराजित गरेर मात्रै फाइनल यात्रा सम्भव हुँदैन । आजै हुने दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको हुनु पर्नेछ । त्यसो नभए नेपालले बंगलादेशलाई ७–० गोलको नतिजामा पराजित गर्नुपर्नेछ ।

लगातार तीन जित निकालेको बंगलादेश नौ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेको भारत दोस्रो र गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ ।

प्रतियोगिताकै दाबेदार टोलीको रूपमा रहेको बंगलादेशमाथि जित निकाल्नु नेपालका लागि सहज भने छैन । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाईपनि पराजित गरेको थियो ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।