२९ बैशाख २०८३, मंगलवार
रुपन्देहीमा बैबाहिक बलात्कार मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन् ।
तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पतीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।


डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नुका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।
सो अत्याचारबारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै घटनाबारे अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।
आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।