द्वन्द्वपीडितसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै सुरक्षाकर्मीको धर्ना

होमल्याण्ड खबर

२०७९ श्रावण १९ गते, बिहीबार १५:५१ मा प्रकाशित

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सरकारले द्वन्द्वपीडितसँग भएको सहमति कार्यान्वयन गर्न माग राख्दै ७ दिनदेखी अनिश्चितकालिन धर्ना दिइरहेका छन् । उनीहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म सडकबाट संघर्ष गरिरहने चेतावनी समेत दिएका छन् ।

उनीहरु सुरक्षाकर्मीबिना शान्ति कायम हुँदैन्, सहिद र घाईते सुरक्षाकर्मीको योगदानको कदर गर, मानवअधिकारको गम्भीर उल्लङ्घनकर्तालाई कारबाही गर, सत्य निरुपण आयोगबाट धोका भो, बहादुर सुरक्षाकर्मीको कदर गर भन्ने नारा लेखिएका प्लेकार्ड सहित धर्नामा बसेका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाका संयोजक रनविर लावतीले आफूहरुका मुद्धाहरु सरकारले सम्बोधन नगर्दासम्म सडकमै धर्ना दिने तर्क व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले मागहरु सम्बोधन गर्ने विश्वास दिलाएपनि गृहमन्त्रीले माग सम्बोधन गर्न चासो नदिएको आरोप लगाए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीहरुका माग समावेश गराउनका लागि उनीहरु सरकारलाई निरन्तर दबाब दिँदै आईरहेका छन् ।