बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

होमल्याण्ड खबर

२०७९ श्रावण २६ गते, बिहीबार १५:१७ मा प्रकाशित

बैंकिङ कसूर मुद्दामा डेढ महिना कैद र करिब ५९ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।