२९ बैशाख २०८३, मंगलवार
स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार पुगेर विरोध गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री निवास बाहिर धर्ना दिन उनीहरु वालुवाटार पुगेका थिए । काठमाण्डौको फोहोर बन्चरेडाँडामा बिसर्जन गराउन खोज्दा काठमाण्डौ महानगरपालिकालाई अवरोध गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।


बन्चरेडाँडा क्षेत्रका राजनीतिक दलहरुले फोहोर फाल्न नदिने भनेर विज्ञप्ति नै जारी गरेपछि अभियान्ताहरु रुष्ट छन् । उनीहरुले दलहरुले फोहोर व्यवस्थापनमा राजनीति गरेको आरोप लगाएका छन् । वालुवाटार पुगेका स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले फोहोरमा भईरहेको राजनीति स्वतन्त्र उम्मेदवारहरुलाई पछाडी पार्न गरिएको षड्यन्त्र भएको टिप्पणी गरे । काठमाडौंमा वैकल्पिक शक्तिको बढ्दो आकर्षण देखेर यसलाई कम गराउन राजनीतिक दलहरुले फोहोरमा राजनीति गरेको उनको जिकिर छ ।
प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने भनिए पनि उनीहरुलाई समय मिलेन । ज्ञापनपत्र बुझ्नसमेत समय नभएको भनेर प्रधानमन्त्री कार्यालयबाट जवाफ आएपछि उनीहरु थप रुष्ट बनेका छन् । संयोजक साहुले प्रधानमन्त्रीले यसैगरी बेवास्ता गर्ने हो भने संसद भवन र प्रधानमन्त्री निवास अगाडी फाहोरको लगेर राख्ने चेतावनी दिए ।
यस्तै आन्दोलनमा सहभागि अर्का अभियान्त कोषराज सुबेदीले फोहोरमा राजनीति भएको कारण फोहोर उठ्न नसकेको बताए ।
उनले अहिले फोहोर व्यवस्थापन नगर्ने हो भने आउँदो चुनावमा जनताले राजनीतिक दलहरुलाई फोहोरसँग टिपेर फाल्ने दाबी पनि गरे ।