नेता गिरिको शव साढे ११ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने, आजै अन्त्येष्टि

होमल्याण्ड खबर

२०७९ भाद्र ५ गते, आईतवार १०:०९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येयष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । क्यान्सरकै उपचारका क्रममा उनको निधन भएको हो ।