प्रदीप गिरीको निधनका कारण संसद बैठक स्थगित

होमल्याण्ड खबर

२०७९ भाद्र ५ गते, आईतवार १०:२४ मा प्रकाशित

समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधीसभाको आजको बैठक स्थगित भएको छ । कांग्रेसको आग्रहका कारण आजको बैठक स्थगित भएको हो । यधपी यसको सूचना भने बिहान ११ बजेपछि मात्र सूचना टाँस गरेर दिने तयारी संसद सचिवालयले गरेको छ ।

आज स्थगित बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित हुँदैछ । सभामुख अग्नि सापकोटाले गिरीको निधनमा आजै शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्न चाहेपनि उनको अन्तिम दाहसस्कारको काम नगरी संसदले शोकप्रस्ताव पारित गर्नु उचित नहुने तर्क आएपछि कांग्रेस नेताहरुको आग्रहका आधारमा आजको प्रतिनिधीसभाको बैठक स्थगित गर्न लागिएको हो ।

गिरीको आजै दिउँसो ४ बजेपछि मात्र अन्तिम दाहसस्कार गर्ने कार्यक्रम तय भएको छ । त्यस अगाडी उनको पार्थिव शरीरलाई साँढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिँदैछ ।

गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।