३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेभित्र १० भाई भन्ने अध्यायकै अन्त्य भईसकेको बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले त्यस्तो बताएका हुन् । संग्लो एमाले रहँदा माधव नेपाल समुहतिर रहेका तर माधव नेपालले पार्टी विभाजन गर्दा अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर माधव नेपाल छोडेर एमालेमै बसेका १० नेताहरुका बारेमा टिप्पणी गदै पाण्डेले त्यस्तो १० भाईको अध्याय नै सकिएको बताएका हुन् ।
पाण्डे पनि त्यस्तै १० भाईमध्येका एक नेता थिए । पार्टीभित्र अहिले पनि १० भाईलाई सस्थापन पक्षले अलग ब्यवहार गर्ने, अवसर र जिम्मेवारीमा लाखापाखा लगाउयने र आगामी संघ/प्रदेशको टिकटमा पनि पन्छाइने हो की भन्ने आशंकाका साथ पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले १० भाईको अहिले अध्यायनै सकिएको बताएका हुन् ।


एमालेमा टिकटका लागि धेरै नै साथीहरु योग्य रहेको र योग्यतममध्येबाट एउटालाई टिकट दिँदा नपाउनेलाई १० भाईको विल्ला लगाएर प्रचार गरिरहनुको अव अर्थ सकिएको पाण्डेले बताए । ‘नेकपा एमालेभित्र इच्छुकजति सबैले टिकट पाउँछन् ? टिकट नपाउनेबित्तिकै एउटा बिल्ला लगाइदिएर हुन्छ ? कास्कीमै पनि अस्ति कसले टिकट पायो, पाएन भन्ने भएन, यो एमालेको समस्या कि दश भाइको ?’ पाण्डेले पत्रकारसँगै प्रश्न गदै सोधे,-‘अव त्यस्तो अध्यायनै सकियो ।’
अहिले एमालेलाई दुईखाले अप्ठ्यारो आईलागेको पाण्डेले बताए । उनले माधव नेपाल समुहले सानै भएपनि पार्टी नेता -कार्यकर्ता लिएर हिडेको र त्यसको प्रभाव पार्टीमा थोरै भएपनि परेको भन्दै पार्टी विभाजन एउटा र अर्काे सत्ताधारी दलहरुको गठबन्धनले एमालेलाई अप्ठ्यारो परिरहेको बताए । यपधी, उनले एमालेले यी दुवै खाले अप्ठ्यारो चिरेर अगाडी बढनुपर्ने बताए ।
‘०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं,’ पाण्डेले भने । सत्ता गठबन्धन दलमा रहेका दलहरुकै मत नमिलिरहेकोले गठबन्धनमा छिटै विग्रह आउने पनि उनले बताए । एउटा दललाइ गठबन्धनको बलामा बहुमत ल्याउनुपर्ने र अर्काेदललाई बहुमत नदिन रोक्नुपर्ने स्थिती पनि अहिलेका सत्ता गठबन्धन दलभित्र रहेको कारणले पनि गठबन्धन धेरै दिन नटिक्ने उनको भनाई थियो ।
नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ पाण्डेले भने,- ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ । परिस्थिति कस्तो देखिँदै छ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २र३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु । जुन ढंगले सरकारमा बसिरहेका दलहरुले वार्ता अगाडि बढाइरहेका छन् । कसैलाई बहुमत नदिने वार्ता गर्नुपर्छ भन्ने एकाथरी र बहुमत त गर्नैपर्छ भन्ने अर्को थरी । यसैले चुनावमा कुनै एउटा दलको बहुमत नहुने देखिन्छ ।’