३ चैत्र २०८२, मंगलवार
‘आब ककरा बाबु कहबै, के कर साहारामे रहबै’ (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका १४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरूले पनि आँसु थाम्न सकेनन् ।
समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन । ‘आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु,’ जितनीदेवीले भने, ‘अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।’


भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएको सम्झँदै जितनीदेवीले भनिन्, ‘आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानु भयो, अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु ।’
‘कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन,’ जितनीले भनिन्, ‘उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।’ अब ती सबै कुराहरू सम्झनामा आइरहन्छ, उनको भनाइ छ । जहिले पनि पढ्नुपर्छ, दलितहरू पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रूपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन् ।